मुक्ति कृषि सहकारीमा पुनः आचार्य सर्वसम्मत चयन

कानेपोखरी । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् ।

शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन प्रक्रियामा आचार्यसहित कार्यसमितिका उपाध्यक्ष युवराज कोइराला, सचिवमा लोकनाथ फुयाल र कोषाध्यक्षमा लाखबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । ७ सदस्यीय कार्यसमितिको सदस्यमा नवराज भट्टराई, चन्द्रमाया मगर र जमुना अधिकारी (ओझा) चयन भएका हुन् । यस्तै लेखा समितिको संयोजकमा टिका प्रसाद कोइराला तथा सदस्यहरुमा अम्बिका कोइराला र रिना कार्की चयन भएका छन् ।

२०७१ सालमा स्थापित सहकारीले गत आर्थिक वर्षमा डेढ करोड बढीको कारोबार गरेको छ भने ८ लाख ७५ हजार शेयरपूँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७८÷०७९ मा २ लाख ७८ हजार ३१७ मुनाफा गरेको छ । चार लाख १ हजार ७२७ रुपैयाँ बराबरको स्थिर सम्पत्ती रहेको सहकारीमा ६६ जना शेयर सदस्य रहेका छन् ।