खैजडी संगिनीको संरक्षणमा रहेको शिवशक्ति समुहको साधारणसभा सम्पन्न

बिराटचौक । पौष १६ ।
लोप हुन लागेको खैजडी भजन र संगिनी भजनको संरक्षण गर्न मोरङ सुन्दरहरैचाको एउटा समुह सक्रिय छ । सुन्दरहरैचा ११ मा रहेको शिवशक्ति खैजडी भजन समुह बाबुबाजेका पालामा संस्कृति अनुरुप मानिआएका पुरुषहरुले गाउने खैजडी र महिलाहरुले गाउने संगिनी जस्ता लोपोन्मुख अवस्थामा रहेका परम्परालाई संरक्षण गरी समाजमा देखिएका बिकृति बिसङ्गतिहरुलाई अन्त्य गर्दै मानविय हितका कार्यमा मार्गनिर्देशन गर्ने उद्देश्यका साथ लागिपरेको छ ।

स्थापनाको ६ बर्ष पुरा गरेको अवसरमा उक्त समुहले शनिबार बार्षिक उत्सव तथा साधारणभसा मनाएको छ । सुन्दरहरैचा १२ शुक्रबारेमा अवस्थित श्री शक्रेस्वर शिव पाञ्चायन मन्दिरको परिसरमा भएको कार्यक्रममा समुहका पुरुष सदस्यहरुले खैजडी भजन र महिला सदस्यहरुले संगिनी गाएर प्रस्तुत गरेका थिए ।

बार्षिक उत्सव तथा साधारण सभामा समुहका सल्लाहकार सदस्य कपिलमणि पोखरेलले स्वागत मन्तव्य राखेका थिए । स्थानीय केहि भजन समुहहरुले भजन प्रस्तुत गरेका थिए ।
समुह स्थापनाकालदेखि हालसम्म निरन्तर लागिपर्ने १ जना र समुहको प्रत्तेक कार्यक्रममा उपस्थित हुने १ जनालाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा ४ जना जेष्ठ नागरीकलाई सम्मान पनि गरिएको थियो ।

खैजडी र संगिनी बाबुबाजेका पालामा गाइदै आएको संस्कृति पुर्वबाटै लोप हुन लागेकोले जगेर्ना गर्न लागिपरेको समुहका सल्लाहकार सदस्य केशव प्रसाद न्यौपानेले बताए । आधुनिक समय संगसंगै नेपालमा मानिदै आएका कतिपय हाम्रा मौलिक संस्कृतिहरु हराउदै जाने र पश्चिमेली संस्कृतिको प्रभाव बढी पर्न थालेको अवस्थामा खैजडी र संगिनी भजनको संरक्षणमा समुह सक्रिय रहेको समुहका कोषाध्यक्ष काशिनाथ तिम्सिनाले बताए । आधुनिक युगमा लोप हुनै लागेका हाम्रा मौलिक संस्कृतिको संरक्षण संबर्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याइरहेको स्थानीय समाजसेवी मोहनलाल श्रेष्ठले बताए ।

सुन्दरहरैचा नगरपालिका १, ८, ११ र १२ वडाका गरी जम्मा २५ जना सदस्य रहेको उक्त समुहले मासिक रुपमा केहि रकम बचत गरी समुहमा रहेका कुनै सदस्यलाई आर्थिक संकट परेको खण्डमा आर्थिक सहयोग पनि गर्ने गरेको छ । हरेक १५÷१५ दिनमा समुहमा रहेका सदस्यका घरमा पुरुषहरुले खैजडी गाउने गर्दछन भने महिलाहरुले संगिनी गाउने गर्दछन ।

बिशेष चाडपर्बको अवसरमा उक्त समुहले सार्वजनिक स्थान वा मठमन्दिरमा साँस्कृतिक झाँकि सहित मौलिकता प्रस्तुत गर्ने गर्दछ ।
सुन्दरहरैचा वडा नं १२ का वडा अध्यक्ष रोशन ढकालको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रम समुहका अध्यक्ष लिलामणि बरालको सभापतित्वमा सम्मन्न भएको थियो ।