रामलाल जोशीको कृति ‘बाआमा’माथि विमर्श

विराटनगर । मदन पुरस्कार विजेता रामलाल जोशीको नविनत कृति बाआमा माथि शुक्रबार विराटनगरमा विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा बाआमा कृतिमाथि विमर्श गरिएको हो । विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । कृति नेपाली साहित्यको उत्कृष्ट कृति भएको उनको दाबी थियो ।

त्यस्तै साहित्यकार सीमा आभास, लक्ष्मी पोखरेल, पूजा आराधना र रमेश सायनले पाठकीय दृष्टिकोण राखेका थिए । लेखकीय मन्तव्य व्यक्त गर्दै कृतिकार जोशीले मदन पुरस्कार प्राप्त गर्ने ऐनादेखि बाआमा कृतिसम्म आइपुग्दा पाठकबाट पाएको मायाले आफू उत्साहित भएको बताए । उनले सानैमा पिता गुमाएका कारण आफ्नो बाल्यकाल दुखद र संघर्षमा बितेको स्मरण गरे । उनले यसअघिका ऐना र सखी कृति नपढे पनि बाआमालाई एकपटक पढिदिन आग्रहसमेत गरेका छन ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सचिव मीनकुमार नवोदित, कवि एवं पत्रकार शिवराज योगी, कवि इन्द्रप्रसाद खतिवडालगायतले कृति र कृतिकारका विषयमा मन्तव्य राखेका थिए ।