नेपाल शिक्षक महासंघद्वारा सेवा निवृत्त शिक्षकहरु सम्मानित

पथरी /  शिक्षक महासंघ पथरीशनिश्चरे नगरले २२ जना सेवा निवृत्त शिक्षक र कर्मचारीहरुलाई सम्मान गरेको छ । विहिवार पञ्चायत माविमा सेवा निवृत्त जीवन सुःख, शान्ति, सु–स्वास्थ्य र सामाजिक कार्यमा बितोस भन्ने कामना सहित सम्मान पत्र, दोसल्ला र टिका लगाएर सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा भगत थपलिया, रुपनारायण भट्टराई, डिल्लीराम दाहाल, सोमनाथ निरौला, जंगबहादुर कार्की, भीमप्रसाद लुइटेल, शारदा खड्का लगायत रहेका छन् । कार्यक्रममा लामो समय शिक्षक पेशामा काम गरेर देहान्त भएका दुर्गा विक र धलबहादुर मगरलाई मरणोप्रान्त सम्मान गरिएको थियो । बिकको सम्मान सामाजिक सेवाका क्रियाशील पत्नी कृष्णकुमारी विकलाई प्रदान गरिएको थियो । शिक्षक विकको परिवारबाट पञ्चायत माविलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।

प्रदेश सरकारबाट नमूना घोषित पञ्चायत माविका प्रधानाध्यपक समेत रहेका नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष अर्जुन कुमार बुढाथोकीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनकुमार तुम्बापो लिम्बुले सम्मानित निवृत्त शिक्षकहरुलाई बधाई दिदै नगरमा हुने शैक्षिक समस्याहरु संयुक्त रुपमा समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै मोरङ जिल्ला अध्यक्ष दामोदर सिग्देल, पथरीशश्चिरे नगरको शिक्षा विभाग प्रमुख उपसचिव शालिग्राम काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष रोहिणीप्रसाद घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष भरतबहादुर खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष घनश्याम ढकाल लगायतले बधाई तथा शुभकामना मन्तब्य दिएका थिए । सम्मानित हुनेहरुको तर्फबाट भगतचन्द्र थपलियाले मन्तब्य राखेका थिए ।