‘गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति प्रतिवद्ध छु’ – सांसद शर्मा

पथरी / मोरङ क्षेत्र नं ३ बाट नव निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन् । तमु ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरे वडा नं १ मा अवस्थित तमु गुम्बामा आयोजित कार्यक्रममा बोल्दै सांसद शर्माले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले आफू हिन्दु बौद्धिष्ट हिन्दु भनेर चिनिन मन लाग्ने गरेको बताए । इश्वरका कैयोँ अवतारहरु मध्ये एउटा अवतार भगवान बुद्धको अवतार भनेर हिन्दु धर्ममा लेखेको कारण आफू बुद्धिष्ट हिन्दु भनेर चिनिन मन लाग्ने गरेको उतले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापोले नगर भित्रका धार्मिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा नगर सधैं लागि पर्ने प्रतिवद्धता जनाए । नेपाल बहुभाषिक, बहुधार्मिक आस्था बोकेको राष्ट्र भएको र एकअर्काको धर्म र सँस्कृतिको संरक्षणमा सबै एकजुट भएर लागे मात्र आपसी भाइचाराको सम्बन्ध कायम गर्न सकिने उनले बताए ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमका साथै गुरुङ पहिरनमा नृत्य प्रस्तुति प्रस्तुति रहेको थियो । कार्यक्रम गुम्बा समितीका अध्यक्ष गणेशप्रसाद घलेको अध्यक्षतामा भएको थियो । तमु ल्होसार गुरुङ समुदायले प्रमुख चाडको रुपमा मनाउँदै आएको छ ।