भाषा, संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै जनजाती अगुवाहरुद्वारा चिन्ता व्यक्त

अनु निरौला । बेलबारी । एक पुस्ताबाट अर्काे पुस्तामा भाषा हस्तान्तरण गर्दै नजाने हो भने भाषा, संस्कृती तथा कलाहरु लोप हुने आदिवासी जनजाती अगुवाहरुले चिन्ता व्यक्त गरेका छन । शुक्रबार बेलबारी प्रज्ञा प्रतिष्ठान बेलबारीद्वारा आयोजित बेलबारी भाषा तथा साहित्यको वर्तमान स्थिति अन्तरक्र्रिया कार्यक्रममा विभिन्न जातिका नगर अध्यक्षहरुले चिन्ता व्यक्त गरेका हुन ।

बेलबारी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सन्सारको बहुमुल्य सम्पति भनेको भाषा नै भएको र सबै भाषाहरु हम्रा अमुल्य निधि हुन, संस्कार संस्कृती र कला लोप हुदै गइरहेकोले पुस्तान्तरण गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालले बताए । भाषा, साहित्य, कलालाई छलफल गर्दै अगाडी नबढाउने तथा युवा पुस्तालाई नसिकाउने हो भने भाषा, साहित्य, कला संकटमा पर्ने कोइरालाले बताए ।

सबै जातिका भाषाहरु हिजोआज लोप हुदै गएको तथा नेपाली र अंग्रेजी भाषाले जातिय भाषाहरु संकटमा पारेको किरात याक्थुङ चुम्लुङ बेलबारी नगर समिति अध्यक्ष चन्द्र लिम्बुले बताए । यहि गतिमा भाषाहरु लोप हुने हो भने हाम्रा छोरा नातिको पालामा नेपाली र अंग्रजी मात्रै प्रयोगमा हुने उनले बताए । राज्यले सबै विद्यालयमा मातृभाषा पढ्ने बातावरण मिलाउनुपर्ने लिम्बुले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बेलबारी नगर अध्यक्ष सन्देश तामाङले बेलबारी नगरभित्रका ८० प्रतिशत तामाङ जातिलाई मातृभाषा बोल्न नजान्ने अवस्थामा पुगिसकेको भन्दै चिन्ता व्यक्त गरे ।

किरात राई यायोख्खा बेलबारी नगर अध्यक्ष जितुमान राईले राई जातीभित्र पनि २६ थर भएको र सबैको आआफ्नै भाषा हुनाले पनि भाषाको पुस्तान्तरण गर्न समस्या परेको बताए । प्रदेश १ का केहि विद्यालयहरुमा राई भाषाको पढाई हुने भए पनि प्रभावकारी हुन नसकेको उनले बताए ।
किरात सुनुवार सेवा समाज बेलबारी नगर अध्यक्ष तुलसा सुनुवारले विदेश पलायनका कारणले पनि मातृभाषा पुस्तान्तरण हुन नसकेको बताइन । मुडियारी समाजका केन्द्रिय सचिव सुर्यनारायाण मुडियारीले आर्थिक रुपमा कमजोर भएका कारण पनि आफ्नो मातृभाषा संरक्षण गर्न असहज भएको बताए ।

बेलबारी वडानं २ मा रहेको सिंहदेवी प्राविमा अध्ययनरत विद्यार्थीमध्ये २५ प्रतिशत उराउ भएकाले उक्त विद्यालयमा आफ्नो मातृभाषालाई पढाउने व्यवस्था मिलाउन उराउ झाँगड उत्थान समाज बेलबरी नगर अध्यक्ष रामदेव उराउले माग गरे ।
दाङ, सप्तरी र मोरङका चौधरीहरुको बेग्लाबेग्लै संस्कृती भएको अवस्थामा चौधरी संस्कृती तथा भाषाको संरक्षण र पुस्तान्तरणमा असर परेको चौधरी थारु कल्याणकारी सभा बेलबारी नगर अध्यक्ष बाबुराम चौधरीले बताए ।

नयाँ पुस्ताले भेषभुषाको प्रयोगमा जोड दिए पनि मातृभाषा बोल्न भने नजान्ने समस्या देखा परेको तमु ह्युल छाेंज धिं गुरुङ बेलबारी नगर सचिव कमल गुरुङले बताए ।

२१ वटा जातिय संस्थाहरुका प्रमुखलगायतको उपस्थिति रहेको कार्यक्रम बेलबारी प्रज्ञा प्रतिष्ठान अध्यक्ष रेखा सुवेदीको अध्यक्षता सम्पन्न भएको थियो । विशिष्ट अतिथि बरिष्ठ साहित्यकार इरन कुमार राई, आदिवासी जनजाती महासंघ बेलबारी अध्यक्ष तिलक राई रहेको कार्यक्रमको सन्चालन बेलबारी प्रज्ञा प्रतिष्ठानका सचिव कुलप्रसाद बरालले गरेका थिए ।