वराहक्षेत्रमा ४ ओटा स्वास्थ्य केन्द्र बन्ने

वराहक्षेत्रः सुनसरीको वराहक्षेत्र नगरपालिकामा ४ ओटा आधारभूत स्वास्थ केन्द्र निर्माण शुरु भएको छ । ती स्वास्थ केन्द्र निर्माणको लागि सबै प्रक्रिया पूरा गरी टेण्डरसमेत लगाइसकिएको नगरपालिकाले जनाएको छ । वराहक्षेत्रको वडा नम्बर ३, ४, ८ र ९ मा आधारभूत स्वास्थ केन्द्र स्थापना हुने भएका हुन् ।

ती स्वास्थ केन्द्र बनाउन जग्गासमेत उपलब्ध भइसकेको बताइएको छ । वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको शिलान्यास भएको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनालले भवन शिलान्यास गरेको वडाध्यक्ष आशाराम चौधरीले बताए । उनका अनुसार स्थानीय प्रमिला कार्कीले उपलब्ध गराएको ५ कठ्ठा जग्गामा भवन बन्ने भएको हो । वराहक्षेत्र कन्ट्रक्सनले ३६ लाख ८० हजार ६० रुपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको छ ।