नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा विराटचोकमा नझरेका फूलहरूले कार्यक्रम गर्ने

विराटचोकः स्वरसम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा यही मंसिर १९ गते बिहीबार नझरेका फूलहरूले नारायण गोपालको सम्मान र सम्झनामा विशेष कार्यक्रम गर्ने भएको छ । ‘नझरेका फूलहरू’ले आफ्नो १६ औँ शृङ्खलाअन्तर्गत नारायण गोपाल स्मृति दिवस कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा लोकप्रिय गायक शिशिर योगीले स्वरसम्राटका सहित आफ्ना बहुचर्चित गीतहरू सुनाउने छन् । मङ्सिर १९ गते साँझ साढे ६ बजेबाट शुरु हुने कार्यक्रममा पूर्वकी चर्चित गायिका सृष्टि हिङ्माङले पनि आफ्नो प्रस्तुति दिने बताइएको छ । कार्यक्रममा नारायण गोपाललाई कविहरू मनु मन्ञ्जिल र छवि वैरागी घिमिरेले पनि आफ्ना कविताहरूमार्फत् प्रस्तुत गर्ने बताइएको छ ।

एउटै मञ्चमा गायक र कविहरूको सहभागितामा दर्शक, स्रोतालाई मनोरञ्चन दिन र स्वरसम्राटप्रति श्रद्धाञ्जलि अर्पण गर्न स्मृति दिवस कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले बताए । साहित्य, कला र सङ्गीतको संरक्षण र विकासका लागि नझरेका फूलहरूले विगत तीन वर्ष देखि कार्यक्रम गर्दै आएको छ ।

नझरेका फूलहरू पलेँटी साँझको ब्यानरमा अहिलेसम्म राष्ट्रका ख्यातिप्राप्त स्रष्टाहरू मीरा राणा, लाक्पा शेर्पा, रामकृष्ण ढकाल, कुबेर नेपाली, यम बराल, राजु सिंह, सत्यकला राई, हेमन्त शर्मा, राज सिग्देल, कर्ण दास, लेखु विवश, तुलसी पराजुली, एलपी जोशी, दुर्गा पराजुली, सञ्जीव धिमाल, रमेश कार्कीले आफ्ना प्रस्तुति दिइसकेका छन् ।

घिमिरेका अनुसार चर्चित स्रष्टाहरू यमुना पराजुली, सुनिता लिम्बू, नेत्र घिमिरे, बीपी सिंह, विकास सुनार, देवाशिष तामाङ, रेखा सुवेदी, अमृत आचार्य, जेबी थुुलुुङ, बादलदेवी चाम्लिङ, मीनकुमार नवोदित श्रेष्ठ, हेमन यात्री, तिला लेकाली, तारा पराजुलीलगायत सर्जकका सिर्जनाहरू प्रस्तुत भइसकेका छन् । यस पटक सुन्दरहरैंचा आइडलका विजेताहरूको पनि कार्यक्रममा प्रस्तुति हेर्न सकिने घिमिरेले बताए ।




Leave a Reply

Your email address will not be published.