भलिबल खेलाडी सम्मानित

काठमाडौंः बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ । पूर्वघोषित ३ लाख रुपैयाँबाट खेलाडीलाई सम्मान गरिएको हो । ३ प्रशिक्षक र १ व्यवस्थापकले भने जनही १ लाख ५० हजार नगद पुरस्कार पाए ।

बंगलादेशमा भएको प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाली महिला टिमले पहिलो पटक नै उपाधि जितेको थियो । ऐतिहासिक सफलता हात पार्ने खेलाडीलाई राष्ट्रिय खेलुकद परिषद्ले विमानस्थलमा स्वागत गर्ने क्रममा पुरस्कार घोषणा गरेको थियो ।

खेलाडीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले नगदसहित सम्मान गरे । उनले दक्षिण एशियाली खेलकुदमा पनि पदक जित्नेका लागि शुभकामना दिए ।

नेपालको राष्ट्रिय खेलका रूपमा रहेको भलिबलको कभर्ड हलका लागि सरकारले नै लगानी गर्ने भएको छ । जसका लागि अर्थमन्त्री खतिवडाले नेपाल भलिबल सङ्घलाई उपयुक्त जग्गाको खोजी गर्न आग्रह गरेका छन् । सरकारले हाल पदक जितेबापत खेलाडीले पाउँदै आएको पुरस्कार राशिमा पनि वृद्धि गर्ने अर्थ मन्त्री खतिवडाले बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सेन्ट्रल जोनमा स्वर्ण विजेता खेलाडी सम्मानित भएकोमा बधाइ दिँदै उक्त सम्मान सबै खेलाडीको सम्मान भएको बताए । उनले यो सम्मानलाई सरकारले सिङ्गो खेल क्षेत्रलाई गरेको सम्मानका रूपमा लिन पनि आग्रह गरे ।

उनले सिङ्गो नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेलकुद क्षेत्रको गौरवका रूपमा रहेको बताए ।