भाटभटेनी सुपरमार्केटको नाममा साइबर आक्रमण

काठमाडौं / भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा उक्त स्क्याम लिङ्क फैलाइएको हो ।

उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ । जहाँ सबैभन्दा माथि बधाई लेखिएको छ । तल उल्लेखित प्रश्नको उत्तर दिएको खण्डमा ५ हजार रुपैयाँ जित्ने उल्लेख गरिएको छ ।

त्यसको तल भाटभेटनी सुपरमार्केटमा संलग्न व्यक्तिको फोटो राखिएको छ । त्यहाँ प्रयोगकर्तालाई विभिन्न प्रश्नहरू सोधिएको छ । जसको उत्तर दिएको खण्डमा उनीहरूले ५ हजार रुपैयाँ जित्न सक्ने भनिएको छ । उक्त प्रश्नको उत्तर दिँदा ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन् । प्रश्नहरू सजिलो भएकाले जोकोहीले उक्त प्रश्नको उत्तर दिन राजी हुन्छन् ।

त्यस्तै उक्त वेबसाटमा तलतिर नक्कली प्रतिक्रिया राखेिएको छ । जसले गर्दा प्रयोगकर्ता स्क्याममा पर्न सक्ने जोखिम बढी हुन्छ । यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिसिङ आक्रमण गर्छन् । यसबाट उनीहरूले बैंक तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गरेर प्रयोगकर्तालई हैरान बनाउँछन् । सामाजिक सञ्जालबाट सक्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपरमार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।

 

टेकपानाबाट