सुन्दरहरैंचा सांस्कृतिक परिवारले सडक नाटक प्रदर्शन गर्ने

विराटचोकः मोरङको सुन्दरहरैंचा सांस्कृतिक परिवारले यही मंसिर १५ गतेदेखि ३ दिनसम्म सुन्दरहरैंचाको वडा नम्बर १२ का विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गर्ने भएको छ ।

वडा नम्बर १२ को प्राङ्गणबाट प्रदर्शन शुरु हुने नाटक खोर्साने, सुन्दरहरैंचा नगरपालिका अगाडि, हरैँचा मोड, सुकुना क्याम्पस अगाडि, शुक्रबारे बजारलगायतका स्थानमा प्रदर्शन गरिने आयोजकको भनाइ छ ।

आयोजकले आज १२ नम्बर वडा कार्यालयमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ‘जीवनका भुलहरू’ नामक सडक नाटक प्रदर्शन गर्न लागिएको हो । सिद्धार्थ बोर्डिङ स्कुल खोर्सानेमा अध्ययनरत इराजन राई, आर्य अधिकारी, अनु दास, शमशेर आलम र अनुप बस्नेतले सडक नाटकमा अभिनय गर्ने भएका छन् । सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले लेखेको सो नाटक प्रदर्शनको लागि वडा नम्बर १२ ले आर्थिक सहयोग गर्ने भएको छ ।

पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझा, विशिष्ट अतिथि वडा नम्बर १२ का अध्यक्ष रोशन ढकाल र अतिथि वडा नम्बर १२ का सचिव अनिल पोखरेलले संयुक्त रूपमा नाटक प्रदर्शनको क्रममा लगाइने पहिरन (टिसर्ट) सार्वजनिक गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि ओझाले समाजका विकृति र विसङ्गति हटाई स्वच्छ समाजको निर्माण गर्न यस्ता संस्था र नाटकको मुख्य भूमिका हुने बताए । कुलतमा फसेपछि समाज र मुलुक नै आक्रान्त हुने हुँदा यस्ता अभियानमा सबैले पूर्ण साथ दिएर सामाजिक विसङ्गति कम गराउन अग्रसर हुनुपर्ने ओझाले बताए ।

लागूपदार्थ दुव्र्यसनबाट बच्न जनचेतना दिने उद्देश्यले नाटक प्रदर्शन गर्न लागिएको बस्नेतले बताए । कार्यक्रममा सुकुना क्याम्पस सञ्चालन समितिका अध्यक्ष केशव अधिकारी, सुकुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक अमृतप्रसाद आचार्य, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडा सदस्यलगायतको उपस्थिति थियो ।