द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गरेका हुन ।

चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित भएका नेतालाई भित्र्याउन पाउँदा खुसी लागेको बताए । एमाले अब प्रतिगमन समर्थित पार्टी भएको कुरा चौधरीले बेलैमा बुझेर माओवादी प्रवेश गरेको प्रचण्डको जिकिर छ ।

इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।