एकसाथ सबै प्रदेशबाट नेपाल भ्रमण वर्षको शुभारम्भ हुने

काठमाडौंः सरकारले नेपाल भ्रमण वर्षको शुभारम्भ देशका ७ ओटै प्रदेशबाट एकसाथ गरिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईका अनुसार जनवरी १ अर्थात् आगामी पुस १ गते काठमाडौंको दशरथ रङ्गशाला र ७ ओटै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ हुनेछ । नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाचौँ बैठकमा उनले यस्तो बताएका हुन् ।

मन्त्री भट्टराईले सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने बताए । १ सातामा भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिए । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरर्राष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि २ मिनेट भ्रमण वर्षबारे जिङ्गल बजाइने बताए ।