ब्याडमिन्टन हलको काम अन्तिम चरणमा, सागमा ७ राष्ट्र सहभागी हुने

पोखराः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरेर निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो ।

कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्बरसिंह गुरुङका अनुसार खेलाडीको लागि चाहिने पूर्वाधार समेत सबै निर्माण भएको छ ।

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टन हल निर्माणको लागि करीब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने भएका छन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन् भने विदेशीसहित ५ जना प्रशिक्षक रहेका छन् । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागिता रहने बताइएको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता जनाउने भएका छन् ।

त्यस्तै, पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरी १३ जना सहभागी हुने भएका छन् । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन । बङ्गलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने भएको हो । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षक सहभागी हुन भएका छन् ।

श्रीलङ्काबाट १७ सदस्यीय ब्याडमिन्टन टोली आउने भएको छ । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन् । भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली आउने भएको छ । माल्दिभ्सबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउने भएको छ ।

पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गतेदेखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्टतर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् भने मंसीर १६ गते सेमीफाइनल तथा फाइनल खेल हुनेछन् ।

त्यस्तै व्यक्तिगत इभेन्टतर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल, डबल र मिक्स डबल तर्फको प्रारम्भिक खेल हुनेछन् । १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ भने १९ गते सबै इभेन्टका सेमीफाइनल खेल हुनेछन् । २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मरासिनीले बताए ।