च्यासलमा तीन जापानी खेलाडी, सन्तोष साहुखल पनि च्यासलमै

काठमाडौंः च्यासल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगका लागि तीन जापानी खेलाडीलाई अनुबन्धन गर्ने भएको छ ।
एशियन फुटबलको पावर हाउसका रूपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो । च्यासलले यसअघि नै एक जापानी खेलाडीलाई अनुबन्धन गरिसकेको छ । मिडफिल्डर जुन इचि ओजावालाई च्यासलले चन्द्रागिरी गोल्डकपमा समेत खेलाएको थियो । त्यसैगरी, सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले बताएका छन् ।

च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्र्याउन लागेको हो । हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो । हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेलिरहेका थिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ । ताइगो नाकामुरा जापानी राष्ट्रिय यु १५ टिमका कप्तान समेत भएका थिए । उनले लाओस प्रिमियर लिगमा लुआङ प्रबाङ युनाटेडमा आबद्ध भएर खेलेका थिए ।

यसअघि नै आबद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगोलिया र लाओस लुआङ प्रबाङ एफसीका लागि खेल्थे ।

मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । च्यासलले अन्य खेलाडीलाई पनि आबद्ध गराइसकेको छ । ललितपुरको अर्काे क्लब थ्रीस्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासलले आबद्ध गराउन सफल भएको छ । गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल बल, डिफेन्डर दिनेश राजवंशी र नितिन थापालाई समेत च्यासलले आबद्ध गरेको छ । यी ४ जना नै थ्रीस्टारबाट खेल्थे । छिरिङ गुरुङ, हेमन्त थापामगर च्यानलमै रहेका छन् । सहायक कोचमा बालगोपाल साहुखललाई आबद्ध गरेको च्यासलका अध्यक्ष रमेश व्यञ्जनकारले बताए ।