तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

काठमाडौंः नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङ्ग्ल्याण्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधातर्पm स्वर्ण पदक दिलाएका हुन् । युके तेक्वान्दो एसोसिएसनको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले पुरुष ४० वर्ष उमेरसमूह मुनिको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

सञ्जीवले गत साउनमा थाइल्याण्डमा सम्पन्न सोही उमेरसमूहको व्यक्तिगत पुम्सेमा पनि कास्य पदक जितेका थिए । यसपटक भने तयारी राम्रो भएकाले स्वर्ण जित्न सफल भएको सञ्जीवले बताए ।

राजुले भने ५० वर्षमाथिको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेका थिए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्रसहित आयरल्यान्ड, फिनल्यान्ड, ग्रीस, जोर्डन, फिनल्यान्ड, इटाली, स्पेन, भारत र आइल्याण्डका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।