सिँधुवा–ओख्रे सडक कालोपत्रे शुरु

सिँधुवाः धनकुटाको सिँधुवादेखि तेह्रथुमको ओख्रेसम्मको १६ किमी सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सडकको सोमबार शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यालय सङ्खुवासभाले सिँधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रेका लागि ७४ करोड ३६ लाखमा ठेक्का लगाएको हो । कालोपत्रेको काम ०७९ सालभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

मुख्यमन्त्री राईले सोमबार नै छथर अस्पतालको पनि उद्घाटन गरेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले हमरजुङ स्वास्थ्य चौकीको स्तरोन्नति गरेर छथर अस्पताल सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण तिवारी, छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू, जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुङ्गाना, म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीलगायतले आफ्ना धारणा राखेका थिए ।