महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सुन्दरहरैंचाको बरमनियामा अन्तरक्रिया

गछियाः महिला विरुद्धको हिंसाको अन्त्यका लागि १६ दिने अन्तर्राष्ट्रिय दिवसको अवसर पारी सुन्दरहरैंचाको वडा नम्बर ३ मा अन्तरक्रिया कार्यक्रम भएको छ ।

‘समानताको पुस्ता र बलात्कारविरुद्धको ऐक्यबद्धता’ नाराका साथ २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा कार्यक्रम गरिएको वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गानाले बताए । ओरेक नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, सुन्दरहरैंचाको वडा नम्बर ३ कार्यालयको सहकार्यमा महिलाको काम (घरेलु श्रम)को पहिचान विषयमा भएको छलफल कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङ प्रमुख अतिथि रहेकी थिइन् ।

सबै वडा, सङ्घसंस्था, टोल विकास संस्थालगायतको सहभागितामा १६ दिनसम्म विभिन्न कार्यक्रमका साथ दिवस मनाइने उनले बताइन् । सुुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ बरमनियाको जननी आधारभूत स्कुलमा भएको कार्यक्रम ओरेक नेपाल सुन्दरहरैंचाकी फोकल पर्सन सुशीला सुवेदी पाठकले सञ्चालन गरेकी थिइन् ।