नेपाली पूँजी बजारमा उतारचढाव, नेप्से इन्डेक्स स्थिर, सेन्सेटिभ इन्डेक्स हरियो

विराटचोकः सोमबारको पूँजी बजारमा उतारचढाव देखिएको छ । दिउँसो साढे १२ बजेसम्ममा ६ अङ्कले घटेको बजार दिउँसो २ बजेसम्म ६ देखि ८ अङ्कले घटेर नेप्से १ हजार १ सय २ बिन्दुको आसपासमा रहेको थियो । २ बजेपछि बजार उकालो लाग्ने क्रममा हिजोको भन्दा २ अङ्क बढेर २ बजेर ५५ मिनेटमा १ हजार १ सय १२ भन्दा माथि पुगे पनि त्यसको ५ मिनेट नबित्दै पुनः तल झरेर अघिल्लै दिनको बिन्दुमा स्थिर भएको हो । यद्यपि सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ५२ अङ्कले बढेको छ ।

नेप्से १ हजार १ सय १० दशमलव ०८ अङ्कमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स २ सय ४५ दशमलव ३८ अङ्कमा रोकिएको छ । कारोबारमा आएका ६ समूहको सूचक घट्दा ६ समूहको सूचकमा भने हरियाली छाएको छ ।

उत्कृष्ट कारोबार गर्ने १० कम्पनीमा सबै बैंकिङ समूहका कम्पनी परेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको सबैभन्दा बढी ३ करोड ६० लाख ६८ हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल बैंकको ३ करोड ५२ लाख २५ हजार रुपैयाँको कारोबार हुँदा एनएमबी बैंकको २ करोड ६ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च कारोबार गर्ने अन्य कम्पनीको ९९ लाख रुपैयाँभन्दा कम रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा चौथो, पाँचौँ र छैटौँ स्थानमा प्राइम कमर्सियल बैंक, एनसीसी बैंक र नबिल बैंक परेका छन् । त्यस्तै, सिटिजन्स बैंक, प्रभु बैंक, सिभिल बैंक र स्ट्यान्डर्ड चार्टड बैंक कारोबार रकमका आधारमा क्रमशः सातौं, आठौं, नवौं र दशौं स्थानमा परेका छन् ।

जम्मा १ सय ६८ कम्पनीको शेयर कारोबार भएको बजारमा १० लाख ७८ हजार १६ कित्ता शेयर ५ हजार १ सय ६५ पटक कारोबार भएको थियो । आज २८ करोड ८८ लाख ५८ हजार ४ सय ८४ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजारमा आएको उतारचढावका बीच मिथिला लघुवित्तको ५ दशमलव ५४ प्रतिशत, महिला सहयात्रा माइक्रोफाइनान्सको ३ दशमलव ८३ र अरुण काबेली पावरको शेयरमूल्य ३ दशमलव ६७ प्रतिशतले बढेको छ ।

पञ्चकन्या माइ हाइड्रोपावरको सबैभन्दा धेरै ६ दशमलव १० प्रतिशतले शेयरमूल्य झरेको छ । स्ट्यान्डर्ड चार्टड बैंकको ५ दशमलव ४१ र आँखुखोला जलविद्युतको ५ दशमलव शून्य ८ प्रतिशतले शेयरमूल्यमा गिरावट आएको छ ।

आज बजार पूँजीकरण १४ खर्ब ८ अर्ब कायम भएको छ ।