६७ पदकसहित नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी

बेलबारीः मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधी जितेको हो ।

त्यस्तै, उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता, २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।

विजेता नेपाली खेलाडीको तर्फबाट खोटाङले सर्वोत्कृष्ट १२ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कास्य पदक पाएको छ भने इटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।

प्रतियोगिताको विजेता नेपाली टोलीमध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । नेपाली टिममध्ये निकटतम पदक विजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यता, कुल १५ पदक जित्न सफल इटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेता टिम तथा खेलाडीलाई नोबेल अस्पताल सञ्चालन समितिका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समितिका अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार वितरण गरे । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते सङ्घले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दुई दिने प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १ सय ७० कास्य पदकका लागि ६ देशका ५२ टिमबीच प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तानका ६ सय ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।