पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोह गोठगाउँमा हुने

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोहको तयारी तीव्र रूपमा भइरहेको  विश्वविद्यालयले जनाएको छ ।

आज पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । दीक्षान्त समारोह यही मंसिर २७ गते गोठगाउँमा हुने भएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रमिला थापाले सुन्दरहरैंचा नगरपालिका, सबै सुरक्षा निकाय तथा सबै स्थानीय सङ्घ संस्थाहरूसँग समन्वय गरेर कार्यक्रम सम्पन्न गरिने बताइन् । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले दीक्षान्त समारोहलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै खालका सहयोग गरिने बताए । दीक्षान्त समारोहको सहयोगका लागि भनेर कार्यपालिकाको बैठक नै विश्वविद्यालयमा गरिएको उनले जानकारी दिए । सो बैठकले विश्वविद्यालय प्रवेश गर्ने मुख्य बाटो गोठगाउँ चोक र चन्द्रनगरको बाटोलाई मर्मत गरिने निर्णय गरेको उनले जानकारी दिए ।

कार्यक्रमस्थलको सरसफाइ नगरपालिकाले नै गरिरहेको ढकालले बताए । हेलिप्याड निर्माणका लागि आज ३ ओटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा विश्वविद्यालय प्राङ्गणको पनि निरीक्षण गरिएको थियो । हेलिप्याड पनि नगरपालिकाले नै निर्माण गर्ने भएको छ ।

पूर्वाञ्चलको मुख्य कार्यालय गोठगाउँमा सार्न प्रक्रिया चलिरहेको र गोठगाउँमा नै मुख्य कार्यालय सार्न कर्मचारीको मनस्थिति पनि परिवर्तन गराउन आजको बैठक विश्वविद्यालयमै आयोजना गरिएको ढकालले बताए ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङ, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति बिजु थपलिया, पूर्वाञ्चल विश्वविद्यालय शिक्षा विभागका डीन शम्भु कोइराला, विज्ञान विभागका डीन शुभनारायण पाठक, परीक्षा नियन्त्रक प्रा. डा. सूर्य संग्रौला, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, सुन्दरहरैंचा नगरपालिकाका सबै वडाध्यक्ष, कर्मचारी तथा सुन्दरहरैंचा नगरपालिकामा रहेका ३ ओटै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।