खिलानाथ ढकाल
माधव काफ्ले
स्व. नेता प्रदीप गिरि।
भर्खरै २०५१ सालको मध्यावधि निर्वाचन सम्पन्न भएको थियो। सन्दर्भ गिरि ६ वर्षका थिए।
डा. प्रदीप गिरिको परिवारमा पाँच भाइ दाजुभाइ र तीन दिदीबहिनी हुन्।
जेठा प्रकाश, माइला प्रदीप, साइँला शेखर, काइँला लक्ष्मण, कान्छा अमलेश गिरी।
जसमध्ये सन्दर्भ डा. प्रदीप गिरिका साइँला भाइका छोरा हुन्। सन्दर्भ कलिलै थिए, जतिबेला प्रदीप भर्खरै पहिलोपटक सांसद निर्वाचित भएका थिए।
‘त्यतिबेला सांसदहरू ७०–८० लाखको पजेरो चढ्थे,’ सन्दर्भले सम्झिए, ‘मैले ठूलोबुवालाई भनें – तपाईंले किन पजेरो नचढ्नुभएको?’
प्रदीपले सन्दर्भलाई हप्काएछन् – मैले किन पजेरो चढ्नुपरो? तँलाई किन पजेरोको भूत चढेको?
गिरि समकक्षी नेता तथा सांसदहरू पजेरो चढ्दा आफू भने सामान्य जीवनयापनबाटै संसदीय भूमिका निर्वाह गर्नुपर्छ भन्थे।
‘म राज्यलाई भार दिँदिनँ, सरकारी सुविधा लिन्नँ,’ गिरिको भनाइ सम्झन्छन् सन्दर्भ।
सन्दर्भका अनुसार गिरिले कहिल्यै आफ्नो जीवन सुधार्ने प्रयत्नमा राजनीति गरेनन्। बरू अरूलाई अवसर दिन खोजे। राजनीति कस्तो हुनुपर्छ भन्दै हिँडे।
‘उहाँलाई पदमा पुग्न र मन्त्री बन्न कहिल्यै इच्छा जागेन, राजनीति भनेको पदप्राप्तिका लागि होइन बाबू भन्नुहुन्थ्यो,’ सन्दर्भले भने।
सन्दर्भ अहिले ३५ वर्ष पुगेका छन्। यसबेला उनी डाक्टर छन्।
सन्दर्भले डाक्टरी पेशा गरिरहँदा गिरि बिरामी परेर थलिए। ‘उहाँलाई उपचार गरिदिने भनेर कैयौं पैसाको प्रस्ताव आयो, तर मलाई यी कुरा चाहिँदैन भनेर इन्कार गरिरहनुभयो,’ सन्दर्भ भन्छन्।
वर्ष दिनअघि गिरिलाई क्यान्सरले च्यापेको थियो। त्यो बेला उपचारका लागि प्रस्ताव आए। कसैले सिंगापुर, अष्ट्रेलिया जानुपर्छ पनि भने।
तर, गिरिले इन्कार गरे। उनी भारतका एक दुई अस्पतालमा मात्रै उपचारमा गए– आफ्नै खर्चले।
‘मुख्य कुरा चाहिँ बाबू, राज्यको ढुकुटीबाटै धेरै मान्छेले पैसा लिएर उपचार गरे, ठूला–साना नेताले उपचार गरे,’ गिरिको उपचारमा सधैं रहेका सन्दर्भ भन्छन्, ‘मलाई चाहिँ यस्तो चाहिँदैन।’
सन्दर्भ हुर्किँदै जाँदा प्रदीप भन्थे – राजनीति गर्नु भनेको अफ्ठ्यारो काम हो। म मेरो राजनीतिलाई सत्ताको खेलमा संलग्न हुन दिन्नँ। म केही काम गर्न चाहन्छु त्यो समाजका लागि हो।
‘उहाँको वाक्य म अहिले पनि सम्झिन्छु, उहाँलाई पदमा पुग्न र मन्त्री बन्न कहिल्यै मन लागेन,’ सन्दर्भ भन्छन्।
यदाकदा ठूलो ‘अफर’ आउँदा भने आफूले ‘एसेप्ट गर्नुपर्छ’ भन्दा सन्दर्भले गाली खाएछन्।
‘अहिले मलाई त्यस्तो पदमा भन्न सुहाउँदैन,’ उनी भन्थे, ‘सत्यलाई झुठको सगरमाथाले छुँदैन।’
सन्दर्भका अनुसार पार्टीमा रहँदा गिरिले आफ्नै नेतृत्वलाई बढी गाली गर्थे। नेतृत्वका गतिविधिमा गहिरो चिरफार गर्थे। तर्क र आफ्नो अध्ययनको कसीमा बाँध्न खोज्थे।
तर, कसले सुन्थे र प्रदीप गिरिका कुरा? उनी एकोहोरो कहिरहे, नेतृत्वले उनका कुरा एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यो। तैपनि उनी बोल्न चाहिँ थाकेनन्।
‘टिकट नपाइएला कि, मैले भनेको कुरामा पार्टीको सभापतिको चित्त दुख्ला कि अनि उसले मलाई चुनाव उठ्न नदिएला कि भन्ने मनमा राखेर उहाँले राजनीति गर्नुभएन,’ सन्दर्भ भन्छन्, ‘ जहिले पनि उहाँ समाजवाद, समाजवाद भनेर हिँड्नुभयो, राजनीतिभित्र समाजवादका नयाँ–नयाँ अभ्यासबारे व्यावहारिक ज्ञान छर्दै हिँड्नुभयो।’
साधनाबिनाको राजनीतिको कुनै अर्थ रहँदैन। कांग्रेस राजनीतिमा त साधना भन्ने शब्द शिला खोज्नुपर्छ।
कांग्रेसमा साधना गरेर होइन, चाकडी गरेर नेतृत्वमा पुगिन्छ। आजका नेताहरूमा जति राजनीतिक लाभ प्राप्ति छ, त्यो प्राप्ति राजनीतिको साधनाबाट होइन, नेतृत्वलाई रिझाएर र चाकडीबाट आर्जन भएको हो।
यस्ता राजनीतिक पद प्राप्तिमाथि सधैं तीखो आलोचना गर्थे प्रदीप गिरि। त्यसकारण राजनीतिमा साधना गर्ने व्यक्ति डा. प्रदीप गिरि हुन् भनिन्थ्यो।
कांग्रेसको केन्द्रीय सदस्य बन्न प्रदीप गिरिले कहिल्यै भोट मागेनन्, व्यक्तित्व बुझेर कार्यकर्ताले स्वःस्फूर्त मत दिएर जिताए।
कांग्रेस राजनीतिमा भिन्न मत छन् तर ती सबै मतलाई एकीकृत गरी निर्भिक दृष्टिकोण दिन्थे गिरि। त्यो मत उनले अध्ययन–अनुसन्धानबाट प्राप्त गरेका थिए।
त्यो ज्ञान उनले भारतमा बस्दा आर्जन गरेका थिए। भारतमा लामो समय अध्ययन गर्दा उनी महात्मा गान्धीको विचारद्वारा प्रशिक्षित भएका थिए। गान्धी विचार बोक्नुको कारणबारे उनका आफ्नै तर्क थिए।
२०७५ सालमा गिरिले एउटा कार्यक्रममा गान्धीबारे भनेका थिए।
नेपालमा गान्धीवादी भनेर चिनिएका कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधि हुन्।
तीन पटक हतियार बोकेको मान्छे वा पार्टी गान्धीवादी हुन सक्छ कि सक्दैन? दिउँसै रक्सी खाने कृष्णप्रसाद भट्टराई गान्धीवादी हुन सक्छन् कि सक्दैनन्?
२१ औं शताब्दीमा गान्धीबारे कुरा गर्दा गान्धीको अमूर्त सत्यलाई हेर्ने विभिन्न पक्ष छन्। एक चरणमा उनी वर्ण व्यवस्था मान्दथे, अर्को चरणमा कुनै पनि समजातिको व्यवहारमा जाँदैनथे।
कुनै समय ब्रिटिश सरकारका बफादार सिपाही भन्थे र अंग्रेजमा सिपाही भर्ती गराएका थिए। श्रीमतीले आफूलाई टेरिन भनेर हातपात गरेका थिए। कुनै समय महिला अधिकारका सबैभन्दा ठूलो प्रवक्ता पनि भए।
उनैले पटेल र नेहरुले नमान्दा नमान्दै अमेरिकीलाई भारतको संविधानसभाको पहिलो मस्यौदाकार नियुक्त गरे। उनको व्यक्तित्वमा ठूलो अन्तरविरोध छ। त्यस अन्तरविरोधको व्याख्या उनका शिष्य, उनले मन पराएका मान्छे जवाहरलाल नेहरुले गरेका छन्। नेहरुको आत्मकथा पठनीय छ। ठाउँ–ठाउँमा गान्धीको कुरा उठेको छ।
गान्धीको अन्तरविरोधबारे सबै कुरा आत्मकथामा छ। एक ठाउँमा गान्धीबारे नेहरु सटिक कुरा भन्छन् – गान्धी आयो हामी सबैलाई प्रभावमा पा¥यो। अब यसको नेतृत्वमा मात्रै जनता जाग्छन्। यसको विकल्प छैन। यस्तो झक्किपन, बहुलठ्ठी। कहिले बाख्राको दुध खान्छु भन्या छ। कहिले तीन दिन बोल्दिन भन्या छ। स्वाधीन भारतमा गान्धीको झक्किपना चल्दैन।
उनी लेख्छन्– यो मान्छेमा अचम्म रहस्यमयीता छ। राजनीतिज्ञका रूपमा हेर्नुस् धार्मिक प्रतीत हुन्छ। धार्मिकका रूपमा हेर्नुस् राजनीतिक प्रतीत हुन्छ। दिनरात कीर्तन गरिराख्छ। पाकिस्तानलाई भारत सरकारले पैसा दिएन भनेर अनशन गर्छ। गान्धीको व्यक्तत्व यति विचित्र छ। बहुमुखी छ।
हामीले गान्धीको वास्तविक क्रान्तिकारिता अझै पनि रेखाङ्कित गरेका छैनौं। गान्धीवादी हुन नेपाली कांग्रेसले कतिपटक हतियार बोक्यो भन्ने गन्ती पनि महत्वपूर्ण छैन। कृष्णप्रसाद भट्टराईले रक्सी खान्थे÷खाँदैनथे भन्ने महत्वपूर्ण छैन।
भट्टराईजीको भनाइ रक्सी खाने मान्छेलाई कांग्रेसको सदस्यता नै दिनु हुँदैन भन्ने थियो। रक्सीभन्दा माथि, हतियारभन्दा माथि कुनै गान्धीको तत्व छ कि छैन? त्यसको खोजी २१ औं शताब्दीको सबैभन्दा ठूलो खोजी हो।
गान्धीको सबैभन्दा ठूलो विशेषता भनेको जस्तै पराजित अवस्थामा, जस्तै अपमानित अवस्थामा, जस्तै कमजोर अवस्थामा पनि तिमी आफ्ना अत्याचारीलाई आँखामा आँखा मिलाएर ल भन के भन्नु छ? भन्न सक्छन्। यसको निम्ति तपाईंले ज्यान हत्केलामा लिएको हुनुपर्छ।
गान्धीले सिकाएको इज्जतका साथ, आत्मसम्मानका साथ बाँच्नुस्। न राजासँग, न मन्त्रीसँग, न नेतासँग, न देवतासँग, न सरकारसँग, न बाह्मणसँग र विद्वानसँग। कोहीसँग पनि आत्माका विरुद्ध नडराउनुहोस् यही हो गान्धीको केन्द्रीय शिक्षा।
२१ औं शताब्दीका लागि गान्धीजीका तीन वटा महत्वपूर्ण कुरा छन् भन्ने मलाई लाग्छ। हिन्दु र मुसलमान अलग होइन भनेर गान्धीजीले बलिदानी दिनुभयो। लगभग त्यही चिज हामीले नेपालमा देख्ने खतरा थियो। मधेस र पहाड। जनजाति र खस। जनजाति र बाहुनको लडाइँ। युरोप अमेरिकामा आज पनि नश्लवाद भइराखेको छ।
सबै मनुष्य एक हुन्। पहिचान अनेक छन्। हामीले यो भन्नुपर्छ। म को भन्दा म एउटा पुरुष हो। म पुत्र पनि हो। पिता हो। नेपाली हो। समुदाय हो। त्यसमध्ये नेपाली कांग्रेस हो। कांग्रेसमध्ये देउवा गुट पनि हो। मेरो पहिचान भन्दैमा पौडेल गुटको कठालो समात्ने? कांग्रेस हुँ भन्दैमा घनश्याम भुसाललाई सुदूरपश्चिम पस्नै नदिने? गान्धीजीको जीवन यस्ता भेदभावविरुद्ध प्रतिरोध थियो।
दोस्रो उपभोक्तावाद। के खोजेको साम्राज्यवादी देशहरूले? हाम्रा मान्छेलाई लगेर, कजाएर, हाम्रो देश लुटेर, भारतलाई लुटेर अरबपति करोडपति भएका मान्छेलाई भिसा लिन हामीले चाकडी गर्नुपर्ने उनीहरूको पूँजी ल्याउनलाई प्रार्थना गर्नुपर्ने? उपभोक्तावादले हामीलाई दास बनाउँदैछ। मानिस बन्न दिएको छैन।
गान्धीजी भन्नुहुन्थ्यो, ज्ञान भनेको हवाइजहाज उडाउने ज्ञानलाई भन्या छैन। ज्ञान भनेको आफूलाई चिन्ने ज्ञान। सबैभन्दा ठूलो विद्या आत्मविद्या। सबैभन्दा ठूलो ज्ञान आत्मज्ञान। अमेरिकाबाट समाचार आउँछ मानिस बौलाएको छ। बैंकको ऋणले गर्दा। चीनबाट समाचार आउँछ आइफोन÷ट्याव किन्न त्यहाँको युवकले किड्नी बेच्छ। यो उपभोक्तावादले विश्वलाई आतंक गरेको बेला नंगाफकिरको बसाइ खुवाइ सुताइ केही चाहिँदैन भन्ने उसको दावा २१ औं शताब्दीको अर्को सन्देश हो।
यसरी नै संसार लुट्न हिँड्ने हो भने सबले धाने पनि पृथ्वीमाताले धान्न सक्दिनन्। आगामी ५० वर्षमा इकोलोजिकल डिजास्टर आउँछ। मानिस आफ्ना कमजोरीले आफैं मर्छ। इकोलोजीप्रति गान्धीको समवेदना हो, मानिसले अनावश्यक भोग गर्न हुँदैन। अनावश्यक रुख नास्न हुँदैन। पानी नास्न हुँदैन भन्ने कुरा २१ औं शताब्दीमा सिंगो विश्वले बुझ्न बाध्य छ। होइन भने सहर, गाउँ डुब्नेछन्। हाम्रो मधेशमा ८÷१० दिन वर्षमा घाम देख्न पाइदैन्थ्यो। अहिले दुई महिना घाम देख्न पाइँदैन। किन? जंगल मासेर भन्ने जानकारको भनाइ छ।
गान्धीले चर्खा आन्दोलन गरे। महिला जागृतिको आन्दोलन गरे। गाई सेवा आन्दोलन गरे। गान्धीको जीवनमा रचनात्मक आन्दोलन अत्यन्त महत्वपूर्ण कुरा थियो। आज नेपाली कांग्रेसको समस्या के छ भने कांग्रेसले आफ्ना साथीहरुलाई टिकट दिए भने शेरबहादुर जिन्दाबाद। टिकट दिएनन् भने के गर्ने त? कुनै काम छैन। गान्धीजीले आफ्ना कार्यकर्तालाई काम दिनुहुन्थ्यो। म आज यही भन्छु पार्टी सभापतिलाई। पार्टीले जवरजस्त रुपमा रचनात्मक कार्यको अभियान चलाओस् अनि गान्धीबादी भइन्छ।
एनजिओ राम्रो छैन होला। हामीसँग भएको एनजिओ÷रेडियो सबै घनश्यामजीको पार्टीसँग छ। गान्धीले आत्मकथामा लेखेका छन्, म राजनीति गर्न राजनीतिमा आएको होइन। म आत्मसाक्षात्कारका लागि राजनीतिमा आएको हो। गान्धीका लागि प्रत्येक व्यक्ति ईश्वरको प्रतीक थियो। गान्धी सधैं आफूलाई प्रश्न गर्थे म को हुँ? म किन राजनीति गर्छु?
गान्धी आमजनताले बुझेको धार्मिक थिएनन्। प्रारम्भमा गान्धी भन्थे ’गड इज ट्रुथ’। पछि गान्धी भन्न थाले ’ट्रुथ इज गड’। ईश्वरको बास तिमीमा छ म मा पनि छ मन्दिरमा या पूजारीमा छ भन्नु गलत हो। यो कुरा नबुझेकोले हामीले गान्धीलाई धार्मिक मानेको, यथास्थितिबादी मानेको हुनसक्छ।
महेन्द्रनारायण निधिसँग पारिवारिक सम्वन्ध थियो अहिले पनि छ। उहाँ जेलबाट छुटेर आउँदा पहिलोपटक मैले हिंस्रक राजनीतिको कुरा गर्दा महेन्द्रनारायणजीले मलाई गान्धीबारे भन्नुभएको। त्यतिबेला पत्यार लागेको थिएन। उमेर छिप्पिदै गयो पत्यार लाग्दै आयो।
बहुदल आउनुअघि नै गान्धीवादी विचार बोकेर उनी नेपाल फर्किए। कांग्रेस राजनीतिमा सक्रिय भए। जुनसुकै मञ्चमा उनी सशक्त विचार, धारणा र समाजवादका कुरा प्रखर रुपमा उठाउँथे।
नेपाली कांग्रेसमा यस्तो विचार–धारणा राख्ने कुनै तप्कै छैन, जसले गिरिको जस्तो दृष्टिकोण दिन सकोस्। बहुदल र जनआन्दोलन २०६२÷६३ पछि राजनीतिमा गिरि नेपालमा जति सक्रिय भए, सधैं राजनीति सुधारको अभियन्ता बने।
सायद, उनले आफू भारतमा बस्दै भूराजनीतिको बारेमा गहन अध्ययन गरे। भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गर्दा उनले राजनीतिको यही मन्त्र सिके।
आज पनि सिरहा कुनै विकसित जिल्लाभित्र पर्दैन। त्यहाँको सामान्य परिवेशमा गिरि हुर्किए। भारतसम्म पुगे, त्यहाँबाट नेपाल फर्किँदा समाजवादको अध्येता बनेर उदाए।
गिरिको जन्म सिरहाको साविक बस्तीपुर गाविस, हाल लहान नगरपालिका १४ मा भएको हो। उनी २००४ कात्तिक १६ गते जन्मिएका थिए। बुवा मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका माइला छोरा थिए।
उनले प्रारम्भिक शिक्षा बस्तीपुर माविबाटै हासिल गरेका थिए। निकट नेताहरूका अनुसार उनका पाँच दाजुभाइ र तीन दिदीबहिनीमध्ये सबैभन्दा चिनिएका व्यक्ति हुन् प्रदीप गिरि।
जेठा प्रकाश, साइँला शेखर, काइँला लक्ष्मण, कान्छा अमलेश गिरी हुन्। सबैले आ–आफ्नै अस्तित्व बनाएका छन्।
सदभावना पार्टीकी नेतृ सरिता गिरी काइँला लक्ष्मणकी श्रीमती हुन्। प्रदीपकी बुहारी हुन्।
प्रदीपका काका रुद्र गिरी, डा. तुलसी गिरी पहिले नेपाली कांग्रेसकै नेता थिए। तर, पछि उनीहरूमा राजनीतिक बिचलन आयो। राजावादी भए। प्रदीपका बुबा मित्रलाल भने कांग्रेसमै सक्रिय रहे।
काकाहरूमा आएको राजनीतिक बिचलनले उनलाई पटक्कै छोएन। कांग्रेस राजनीतिमा उतार–चढाव आए पनि गिरि समाजवादी दृष्टिकोणमा मकैको ढोडझैं सिधै भए।
उनी बिपीका अनुयायी थिए, बिपीसँग समाजवादबारे सवाल–जवाफ गर्थे। बिपीको निधनपछि उनी सन्तनेता कृष्णप्रसाद भट्टराई निकट मानिन्थे। भारतमा पढ्दापढ्दै गान्धीवादी विचार बोकेर नेपाल फर्किंदा उनी सन्तनेता भट्टराईको पछि लागेका थिए।
उनी किसुनजी र महेन्द्रनारायण निधिलाई गान्धीवादी नेता भन्ने गर्थे। यसबारे विभिन्न मञ्चहरूमा गिरिले जवाफ दिने गर्थे।
गिरि राजनीतिमा संलग्न भएको २०१७ सालदेखि हो, जतिबेला तत्कालीन राजा महेन्द्रले पञ्चायतकाल प्रारम्भ गरेका थिए।
भारतमा पढ्दै गर्दा उनी २०२४ सालमा नेपाल छात्र संघ बनारसको निर्वाचित उपाध्यक्ष भएका थिए। भारतमा रहँदा पनि उनी प्रजातन्त्रप्रति सचेतना फैलाउँथे।
पञ्चायती शासनको अधिकांश समय उनी भारतमै बसे। जब नेपालमा बहुदलको आवाज प्रखर बन्दै गयो उनी नेपाल फर्किए।
२०४६ सालको पहिलो जनआन्दोलनमा सक्रिय भए। बहुदल आएपछिको २०४८ सालको आम निर्वाचनमा उनलाई आफ्नै पार्टी नेपाली कांग्रेसले सिरहाबाट टिकट दिएन। उनी त्यतिकै थन्किए।
२०५१ सालको मध्यावधि निर्वाचनमा भने उनले टिकट पाए। सिरहा क्षेत्र नम्बर ४ बाट उनी निर्वाचित भए।
२०५६ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट नेकपा एमालेका धर्मनाथ साहसँग पराजित भए।
२०५६ सालको निर्वाचनपछि नेपाली कांग्रेस दुई खेमामा विभाजित हुन थाल्यो।
हालका प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच दरबारलाई हेर्ने दृष्टिकोणमा मत मात्र बाझिएन, त्यही झोंकमा देउवाले कांग्रेस विभाजन गरे।
गिरि देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकमा सक्रिय भए।
दोस्रो जनआन्दोलन २०६२÷६३ सफल भएपछि देउवा माउ पार्टी नेपाली कांग्रेसमै फर्किए। गिरि पनि माउ पार्टीमै आए।
२०७४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सांसद बने।
संविधान निर्माणपछि २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचन हुँदा गिरी सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भए।
कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य बने। देउवानिकट मानिने गिरि उनीप्रति कहिल्यै नरम भएनन्। चाहे त्यो नेतृत्व सञ्चालनको सवाल, वा सरकार सञ्चालनको प्रश्नमा देउवाप्रति उनले कटाक्ष गरिरहे।
गिरिका श्रीमती र एक छोरा छन्। गिरि काठमाडौंको भीमसेनागोलामा बस्दै आएका थिए।
एक वर्षअघि क्यान्सरबाट पीडित भएपछि उनी देशी–विदेशी अस्पतालमा उपचारका लागि धाए। उनले आफ्नो पार्टी र सरकारसँग उपचारका निमित्त कहिल्यै सहयोगको याचना गरेनन्। बरू, भीमसेनगोलको आफ्नो घर बेचेर उपचारमा खर्च गरे।
घर बेचिसकेपछि उनी टोखामा घरभाडा लिएर बस्दै आएका थिए। गिरि भारतका विभिन्न ठूला अस्पतालमा उपचारमा धाइरहेका थिए।
घाँटीको अपरेसन सफल भएपछि उनी नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि फेरि उनलाई रोगले च्याप्न थाल्यो। त्यसपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।
कांग्रेस नेताहरूका अनुसार गिरि सरल र मिजासिला राजनीतिज्ञ थिए। उनले पदलाई कहिल्यै पछ्याएनन्। नेपाली राजनीतिमा गिरि सबैजस्तो दलका वैचारिक गुरू मानिन्छन्।
राजनीतिमा मात्र नभएर उनी एक कुशल लेखक पनि हुन्। लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत उनका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन्।
भतिजा सन्दर्भका अनुसार आफ्नो स्वास्थ्य जटिल बन्दैगर्दा र उपचारमा धाइरहँदा नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन आयो। गिरि भन्थे – म त बिरामी परें, तर युवाहरू आए भने मलाई खुसी लाग्छ। गिरिले देउवा नेतृत्वको निरन्तरता देख्नु नपरोस् भन्ने चाहेका थिए।
तर, देउवा नेतृत्वमा पुनः उदाए। कांग्रेसको नेतृत्वपंत्तिमा युवा नेताहरू आएको थाहा पाएपछि उनले खुसी व्यक्त गरेका थिए।
‘राजनीतिमा युवा नेतृत्व आउन् भन्ने चाहना राख्नुहुन्थ्यो, म त बिरामी परें, सहभागी पनि हुन सकिनँ, तर जो आए परिवर्तनको अभ्यास भयो,’ गिरि भन्थे।
गिरिलाई राजनीतिक दर्शन मान्ने कांग्रेस नेताहरूको लाम छ। त्यसमध्येका एक महामन्त्री गगन थापा हुन्।
‘उहाँ नेपाली कांग्रेसमा परिवर्तित, फरक दृष्टिकोण र समाजवादी चिन्तनमा सक्रिय र सफल नेता हो,’ गिरीको राजनीतिबारे टिप्पणी गर्दै थापाले भने, ‘उहाँ आत्मविश्वासी, निडर र समाजको दुःख–सुखमा सदैव चिन्तन, मनन गर्दै पार्टीमा छुट्टै दृष्टिकोण निर्माण गर्ने नेता हुनुहुन्थ्यो।’
थापाले राजनीतिमा एउटा विचार, चिन्तन र समाजवादको अध्येतालाई गुमाउनु पर्दा अपुरणीय क्षति भएको बताए।
‘दाइ तपाईंले सधैं भन्नुहुन्थ्यो – प्रदीप, म जुन बाटो हिँडेको छु नि, त्यो बाटोमा ठूलो त्याग र तपस्या चाहिन्छ, सक्छौं?,’ गिरिलाई सम्झँदै युवा नेता प्रदीप पौडेल भन्छन्, ‘म गम्भीर भएर भन्थें कोसिस गर्छु, तपाईंबाट सिक्छु।’
गिरिसँग हाम्रो पुस्ताले लिनुपर्ने ज्ञान र विवेक, सिक्नुपर्ने शिक्षा धेरै बाँकी रहेको पौडेल बताउँछन्।
गिरि समाजवादको अध्येता बने, नेतृत्वमा जान पनि जोड गरेनन्। मन्त्री बनुँला, पद खाउँला, सेवा सुविधा लिउँला भन्ने लागेन।
असल नेता पाउनै मुस्किल राजनीतिमा प्रदीप गिरि सदैव सम्झिरहने राजनीतिज्ञ हुन्। उनको राजनीतिक दर्शनलाई पछ्याउने जमात नेपाली कांग्रेसमा मात्रै सीमित छैन।
अलविदा, प्रदीप गिरि।
नवपथबाट साभार