दारी ग्याङ सुन्दरहरैंचाद्वारा बुढी खोलाको सरसफाइ, फ्रेस हाउसले फोहोर फाल्दा खोला प्रदूषित

विराटचोकः विभिन्न सामाजिक सेवाका काम गर्दै आएको दारी ग्याङ सुन्दरहरैंचाले बुढी खोलाको सरसफाइ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रही देशभर विभिन्न सामाजिक काममा संलग्न हुँदै आएको दारी ग्याङले शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका बीचमा पर्ने बुढी खोलमा सरसफाइ गरेको हो । दारी ग्याङमा आबद्ध युवाले बुढी खोलामा पर्ने पूर्वपश्चिम राजमार्गको पुलमुनिको क्षेत्रका साथै बुढीगंगा मुक्तिघाट क्षेत्र आसपासमा खोला सरसफाइ गरेका थिए ।

खासगरी खोलामा गत छठ पर्वको समयमा भएको फोहोरका साथै विभिन्न व्यक्तिले फोहोर फाल्ने गरेकाले प्रदूषण बढ्दै गएकाले सरसफाइमा जुटेको दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव बास्तोलाले बताए । खोलामा खासै फोहोर उत्सर्जन नभई बाहिरबाट फोहोर ल्याएर पुलमाथिबाट फ्याँक्ने गरेकाले प्रदूषण बढेको उनको भनाइ छ ।

कुखुराको मासु बेच्ने (फ्रेस हाउस)ले फोहोर फाल्ने गरेकाले उनीहरूलाई सचेत गराउन आवश्यक रहेको बास्तोलाले बताए । ‘कुखुराका पखेटा लगायतका फोहोर एकदम धेरै भेटियो, कुखुराको मासु बेच्नेहरूले पुलमाथिबाट फोहोर फाल्ने गरेकाले पुलमुनि धेरै नै फोहोर देखिएको छ,’ अध्यक्ष बास्तोलाले भने, ‘यसपटक त हामीले सफा ग¥यौं, फाल्ने काम नरोकिए जति नै सफा गरे पनि उस्तै हुन्छ । उनीहरूलाई यस विषयमा सचेत गराउन आवश्यक देखिएको छ ।’

उनले सुन्दरहरैंचा र इटहरी दुवै नगरपालिका र उद्योग वणिज्य सङ्घहरूलाई फ्रेस हाउसहरूलाई खोलामा लगेर फोहोर नफाल्न सचेत गराउने विषयमा आग्रह गर्ने निर्णय समेत गरिएको जानकारी दिए । सरसफाइ कार्यक्रममा दारी ग्याङका करीब २ दर्जन सदस्य सहभागी भएका थिए ।

सोही दिन बसेको दारी ग्याङ सुन्दरहरैंचाको बैठकले यसै महिनाभित्र इटहरी र सुन्दरहरैंचाका विभिन्न विद्यालयमा क्यान्सर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम समेत गर्ने निर्णय गरेको सचिव उमेश सेञ्चुरीले जनाए ।