घेराबनी फुटबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा–४ लाई

विराटचोकः मोरङको सुन्दरहरैंचामा सम्पन्न बरमनिया\ घेराबनी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सुन्दरहरैंचा–४ ले जितेको छ ।

सुन्दरहरैंचा–३ स्थित आदर्श युवा क्लबको आयोजना तथा सिर्जनशील क्लबको सहआयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि भीडन्तमा आयोजक आदर्श युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै सुन्दरहरैंचा वडा नम्बर ४ ले उपाधि जितेको हो । उपाधि विजेता वडा नम्बर ४ ले ट्रफीसहित नगद २५ हजार हात पारेको छ भने उपविजेता आयोजक आदर्श युवा क्लबले ट्रफीसहित नगद १५ हजार पाएको छ ।

विजेता वडा नम्बर ४ का लागि दोस्रो हाफमा अनिस चौधरी र सागर थापाले गोल गर्दै आफ्नो टिमको जीत निश्चित गरे । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको खेलको दोस्रो हाफमा वडा नम्बर ४ ले अयोजकमाथि निकै दबाब राखेको थियो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि सुन्दरहरैंचा वडा नम्बर ३ का अध्यक्ष जीवनप्रसाद ढुङ्गाना, उद्योग वाणिज्य सङ्घ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईं लगायतले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा गाउँपालिकाका गरी १२ ओटा टिमको सहभागिता रहेको थियो ।