रङ्गेलीमा झडप, प्रहरीले हान्यो अश्रु ग्यास

मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरु बिच झडप भएको हो ।
मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहरुले ढुुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको हो । मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका लागि बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

रङ्गेली नगरपालिका वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितिक दलका कार्यकर्ताहरुले विरोध गर्दै आईरहेका थिए । कार्यकर्ताहरुको विरोधका कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित गर्नुपरेको थियो । कुल ३२४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद सुरु भएको थियो ।
कम्प्युटरमा मत प्रबिष्टिका क्रममा प्राविधिक गडबडी भएपनि समस्या बल्झिएको रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताएका छन् । उनले प्राविधिक त्रुटिका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गरेका छन् ।