सुन्दरहरैचाका आमाछोराले पर्खालबाट हाम फाल्दा आमाको मृत्यु, छोरा घाइते

मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ९ बिराटचोक घर भएका आमाछोराले करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा गएराति करिब साढे १० बजेतिर आमा–छोरा पर्खालमा चढेर हामफालेका थिए ।
मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनका छोरा मातुरामको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि बीर अस्पतालमा थप उपचार भइरहेको छ ।
उनीहरु दुवैजना डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गर्दै आइरहेको भन्ने बुझिन आएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।