पशुपतिमा लाखबत्ती बाले किड क्वीनका प्रतिष्पर्धीले

काठमाडौंः १७ औं संस्करणको ‘किड क्वीन नेपाल– २०१९’ का प्रतियोगीले शनिबार पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन् ।

नेप्लिज फेसन होमले आयोजना गर्दै आएको उक्त प्रतियोगिताका २२ जना बालिका तथा किशोरीले प्रशिक्षणको एउटा अङ्गको रूपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन् ।

७ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिका तथा किशोरीको व्यक्तित्व विकासको साथै प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेप्लिज फेसन होमले पछिल्लो १७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताले अहिलेको पुस्ताका बालिका तथा किशोरीलाई नेपाली कला, संस्कृति, धर्म, भाषा, समाजसेवा आदिका बारेमा जानकारी दिन ठूलो मद्दत पुग्ने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् ।

आगामी शनिबार उनीहरूले ट्यालेन्ट शोमार्फत आ–आफ्ना प्रतिभा प्रस्तुत गर्ने भएका छन् । प्रतियोगिताको फाइनल भने मंसिर २१ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने छ ।