बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु, छ देशका खेलाडी सहभागी

बेलबारीः मोरङको बेलबारीमा शनिबारदेखि नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । बेलबारी नगर सितोरियो कराते सङ्घले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गरेको हो ।

विराटनगरका रहेको नोबेल शिक्षण अस्पतालको प्रायोजनमा भएको कार्यक्रमको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राईले विदेशी खेलाडीको सहभागितामा गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदको माध्यमबाट देशलाई नै चिनाउन सकिने भन्दै उनले प्रदेश सरकारले पनि खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रतियोगितामा ६ देशका ५२ टिम आबद्ध ६ सय ५० खेलाडी सहभागी छन् । नेपालका सात ओटै प्रदेशका खेलाडी सहभागी रहेको प्रतियोगितामा भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तानका खेलाडी पनि उपाधीका लागि भिड्दैछन् । ८५ स्वर्ण, ८५ रजत र १ सय ७० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा शनिबार १ सय २० पदकको खेल भएको छ । ३० स्वर्ण, ३० रजत र ६० कास्य पदकका लागि खेल भएको बेलबारी नगर सितोरियो कराते सङ्घकी सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिइन् । विजेता खेलाडीलाई मुख्यमन्त्री राई, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, कराते महासङ्घका पूर्व प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष सञ्जय सुवेदीलगायतले पदक प्रदान गरेका छन् ।

आज आइतबार १ सय २० पदकका लागि खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा स्वर्ण पदक विजेताले १ लाख, रजत पदक विजेताले ७५ हजार र कास्य पदक विजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।