कर्फ्यु लागेसँगै लेटाङ दिनभर सुनसान

मोरङको लेटाङ बजार लगायत आसपासका क्षेत्र सोमबार दिउसो सुनसान थियो । कारण हो
लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश जारी गरेको कर्फ्यु ।
लेटाङ नगरपालिका वडा नं ५ मा रहेको शिक्षा विकास विद्यालयका शिक्षक मनोज पौडेलले गत शुक्रबार कक्षा ७ मा अध्ययनरत १३ बर्षीय छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेको भन्दै आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए ।
शिक्षक पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । प्रहरीमा बुझाएपछि पौडेललाई कुनै कारबाही नहुने भन्दै एउटा समूह आफैंले कारबाही गर्ने भन्दै ‘अराजक’ बनेको थियो ।
शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र आक्रमणबाट रोक्ने प्रहरीबीच आइतबार दिनभर झडप भयो । भिडले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल आगजनी गर्दै स्कुलमा पुगेको एम्बुलेन्स पनि तोडफोड गरेको थियो ।
दिनभर तनाबग्रस्त भएको स्कुलबाट प्रहरीले राति करिब साढे ७ बजे शिक्षकलाई प्रहरी कार्यालय ल्याएको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा घरेलु हतियारसहित आएको समूहले प्रहरीलाई आक्रमण गरेको थियो ।
स्थानीयले आक्रमण गर्दा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो । उक्त घटना पछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।
वडा नं ५ का वडाध्यक्ष तथा विद्यालय व्यबस्थापन समिति अध्यक्ष भूम सूर्य मगरका अनुसार पिडित छात्राले विद्यालयमा आइतबार साथीहरुलाई शिक्षक पौडेलले होलिको दिन घरैमा गएर दुर्व्यवहार गरेको सुनाएकी थिइन । त्यसपछि विद्यार्थीहरुले उक्त कुरा विद्यालयमा शिक्षकहरुलाई सुनाए । प्रहरी पुग्यो, स्थानीयबासी भेला भए । अनि भयो झडप ।
विद्यालयको छेवैकी स्थानीयबासी सितादेवी पौडेल आइतबारको सो घटना घरैबाट नियाली रहनुभएको थियो । सो घटनाले अहिले पनि डर लागिरहेको वहाँ बताउनुहुन्छ ।
घटनामा घाइते हुनुभएका विद्यालयका प्रधानाध्यपक लक्ष्मी प्रसाद मिश्र अहिले उपचार गराइरहनुभएको छ । शिक्षक पौडेललाई प्रहरीमा बुझाउन सहयोग गरिरहनुभएका मिश्रलाई पनि आक्रोसित भिडले आक्रमण गरेको थियो । स्थानीय संयमित नबन्दा उक्त घटना घटेको उहाँ बताउनुहुन्छ ।
सैक्षिक सत्रको अन्त्यतिरको यो समयमा धमाधम पढाइ हुनुपर्नेमा यो घटनाले विद्यालय सन्चालन कहिलेबाट हुने भन्ने अन्यौल छ । तत्काल विद्यालय खुलाउने मानसिकतामा शिक्षकहरु नरहेको प्रधानाध्यपक मिश्र बताउनुहुन्छ । शिक्षकहरुको सुरक्षाको ग्यारेन्टी तथा पढाउन सक्ने बाताबरण भएपछि मात्रै विद्यालय सन्चालन गर्न सकिन प्रधानाध्यपक मिश्र बताउनुहुन्छ ।
घटनाको बिषयमा जिल्लाप्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ भने आरोपित शिक्षक हाल प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको निस्पक्ष छानबीन गरी दोषीलाई कारबाही गर्न नागरिकले माग गरेका छन् ।