गुरुकुलमा फेरि प्रस्तुत भए श्रवण मुकारुङ

काव्यारोहण, आरोहण कविता यात्राको नवौं अनुक्रममा कवि श्रवण मुकारुङले करिब दर्जन कविता सुनाएका छन् ।
आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा मुकारुङले युवाकविहरुलाई समर्पित गर्दै आवाज नआइपुगेको मेघको उज्यालो, म्याडम गीता, डिप्रेसनमा राम, गाउँ र आमा, मोहन कोइराला, मृत्युसित, बिसे नगर्चीको बयान लगायत झण्डै दर्जन आफ्ना कविता वाचन गरेका हुन् ।
दोस्रो जनआन्दोलनको पूवसन्धा २०६२ साउन ८ गते काठमाडौं गुरुकुलमा मुकारुङको जीवनको पहिलो एकल कविता वाचन कार्यक्रम भएको थियो । शनिबार काव्यारोहणमा कविता सुनाउँदै गर्दा उनले १६ वर्षअघिको त्यो कार्यक्रम स्मरण गरे । मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन । उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित कवितामा गनिन्छ । दर्जनौं कृतिका सर्जक मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुरमा भएको हो ।
आरोहण–गुरुकुल विराटनगरले दशकौंदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका कविहरुलाई २०७७ सालको मंसिरदेखि प्रस्तुत गराउँदै आएको छ । काव्यारोहणमा यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा, सुमन पोखरेल प्रस्तुत भइसकेका छन् । काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन् ।