झापाको सताक्षीधाममा गौमूत्रबाट औषधी उत्पादन गरिँदै

दमकः धार्मिक तथा पर्यटकीय स्थल झापाको  सताक्षीधाममा गौमूत्रबाट गौअर्क ब्रान्डको औषधी उत्पादन गर्न शुरु गरिएको छ । सो धाममा २०७१ सालमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएको थियो ।

गौशालाका उन्नत तथा स्वस्थ गाईको पिसाब भुइँमा झर्न नदिई सोझै सङ्कलन गरी वाष्पीकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रूपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक भारद्वाज बताउँछन् । उनका अनुसार दैनिक ४० लिटर गौअर्क उत्पादन हुने गरेको छ । पेटमा देखिने कुनै पनि समस्याको उपचारका लागि यो अर्क प्रयोग गर्न सकिने उनको भनाइ छ ।

त्यसैगरी, गौशालाले बेलको जुस, गोबरको कोइला, अगरबत्ती, हवन सामग्री, गँड्यौला मलको पनि उत्पादन शुरु गरेको छ । गँड्यौला मल दैनिक एक क्वीन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापन प्रमुख लीला शास्त्री बताउँछन् ।

गाईको उपचारका लागि धाममा गौ अस्पताल निर्माण भएको छ । गौशालामा ३ सयभन्दा बढी गाईको संरक्षण गरिएको छ ।