स्थानीय तहको चुनावमा जित हासिल गर्ने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा जित हासिल गर्ने दाबी गर्नुभएको छ । एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा बुधवार आयोजित तराई मधेस वृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले चुनावमा जित हासिल गर्ने दाबी गर्नुभएको हो ।
उहाँले समृद्धिको यात्रामा कतै पनि नअलमलिइ देशव्यापी रूपमा लाग्ने विश्वास दिलाउनुभयो ।
ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’
निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।