निषेधित़ औषधी सहित ५ जना पक्राउ

झापा ।

झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ नँया बजारमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका-९ का २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका-३ का २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम- ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी अर्जुनधारा नगरपालिका-११ मा अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी चेकिङ टोलीले प्रदेश १-०१-००२ ह १०१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाइ छिपाइ राखेको लुपिजेसिक-२०० एम्पुल, एबट-२०० एम्पुल, डाईजेपाम-२०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद भए सगै अटोचालक भद्रपुर १ का २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।