खोटाङमा सुन्तला उत्पादन कम

खोटाङमा लगातार तेश्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा सात सय ४१ हेक्टरमा तीन हजार तीन सय ३० मेट्रिक टन सुन्ताल सुत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा सात सय ४२ हेक्टरमा तीन हजार तीन सय ३१ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तथ्यांकमा चालु आर्थिक वर्षमा एक टनले सुन्तला वृद्धि भएको देखिए पनि यो वर्ष उत्पादन क्षेत्रफल बढाइएकाले तुलनात्मकरुपमा सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । 

१० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ६ हजार पाँच सय ८६ मेट्रिक टन र आर्थिक वर्ष २०७५/७६ मा सात हजार पाँच सय ४० टन सुन्तला उत्पादन भएको थियो । सुन्तला उत्पादनका लागि योग्य जमिन आठ सय १० हेक्टर भए पनि त्याे भन्दा कम क्षेत्रफलमा सुन्तला लगाइएको छ । रोग तथा किराको प्रकोपका कारण सुन्तला उत्पादन घटेको कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयो ।