दिक्तेल बजारमा फायर हाइड्रेन्ट गेट भल्भ तयार

खोटाङको दिक्तेल बजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत दिक्तेल बजारका १० ठाउँमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मङ्गलवार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो ।

दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर हाइड्रेन्ट गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।

१८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ २०७५ चैत १४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको हो । त्यही आयोजना अन्तर्गत अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।