खोटाङमा आङ खसेका महिलाको उपचारका लागि घुम्ती शिविर

आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिविर सुरु गरिएको छ । आङ खसेका कारण कठिन रूपमा दैनिकी बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले विभिन्न वडामा आङ खस्ने समस्या भएका महिलाका लागि विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँच गर्न भीआईए क्याम्प सुरु गरेको हो ।

लुकेर बसेका आङ खसेका महिलाको पहिचान गर्ने र उपचार दिने लक्ष्यका गएको आइतवारदेखि हलेसी तुवाचुङ नगरपालिका १ बाहुनी डाँडाबाट सुरु गरिएको घुम्ती शिविर मङ्गलवार हलेसी ९ सल्लेमा पुगेको छ । अहिलेसम्म १४ महिलाको शरीरमा रिङप्रेसरी राखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

भीआईए परीक्षणका क्रममा आङ खसेका कारण क्यान्सर भएकी अवस्थामा एक महिला भेटिएकी छन् । पाठेघरको क्यान्सर भएकी महिलालाई पायक पर्ने सहरमा गएर उपचार गर्नका लागि यातायात खर्चबापत जनही पाँच हजार रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।