इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा हप्तामा दुई उडान हुने

इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि हप्तामा दुई उडान हुने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हप्तामा दुई वटा उडान गर्ने जनाएको छ ।

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले हरेक आइतवार र बिहीवार काठमाण्डौदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

धावनमार्ग कालोपत्र भइ परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र तारा एअरको संयुक्त पहलमा विमानस्थलमा हप्ताको दुई वटा नियमित उडान हुन लागेको हो । फागुन ११ देखि काठमाण्डाैबाट बिहान ११ बजे र इलामबाट दिउँसो साढे १२ बजे उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो । काठमाण्डौबाट इलामसम्मको उडान अवधि झन्डै एक घण्टाको हुनेछ । हवाई यात्राका लागि अहिले एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ ।