सोमालियामा पाँच वर्षमुनिका झण्डै आधा बालबालिका कुपोषणको जोखिममा

सोमालियामा गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा बालबालिका कुपोषणको जोखिममा परेका संयुक्त राष्ट्रसंघले जनाएको छ । खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा उनीहरू कुपोषणबाट प्रभावित बन्ने खतरा देखिएको हो ।

लाखौँ बालबालिकाको ज्यान बचाउनका लागि उपचार आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न आह्वान पनि गरेको छ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले सोमालियामा कुपोषण संकटग्रस्त स्तरमा पुगेको पनि जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सोमालियाली जनसंख्याको एक चौथाइ अर्थात ४१ लाख नागरिक खाद्य सहायताको भरमा रहेका छन् ।

विशेषगरी बालबालिकाको क्षेत्रमा आउँदो मार्चसम्ममा तत्काल ७० लाख अमेरिकी डलर आवश्यक पर्ने युनिसेफले अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ । दशकौंदेखि सोमालियाको ‘हर्न अफ अफ्रिका’ क्षेत्र सबैभन्दा लामो खडेरीसँग जुधिरहेकोले यो क्षेत्रलाई सोमालियाको सबैभन्दा बढी प्रभावित मानिएको छ ।