इन्द्रपुर जेसीज सप्ताहः मुख्य न्यायाधिवक्ता आचार्य भन्छन्, ‘जनप्रतिनिधिले झोलामा र सिरानीमा कानुन राखेर न्याय सम्पादन गर्नुपर्छ’

विराटचोकः  इन्द्रपुर जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । सुन्दरहरैंचा –९ मा रहेको मंगल स्मृति प्रतिष्ठान जेसीज सामुदायिक भवनमा सप्ताह सम्पन्न भएको हो । सप्ताहको अन्त्यको दिन आज जेसीजले स्थानीय तहमा जनताको न्यायमा पहुँच’ विषयक कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । न्याय सतितिको काम, कर्तव्य र अधिकारका विषयमा बहस भएको थियो ।

सोे कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य रहेका थिए । उनले कार्यक्रममा बोल्दै संविधानलाई अध्ययन गरेर प्रयोग गर्नुपर्ने बताए । साना प्रकृतिका मुद्दा अदालतसम्म नपुगून् र स्थानीय तहमै न्याय सम्पादन होस् भन्ने हेतुले स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरिएको उनले बताए । न्यायाधिवक्ता अधिकारीले प्रदेश १ का सबै पालिकाहरुमा न्यायिक सम्पादनमा एकरूपता ल्याउन विशेष कार्यक्रम गरिने बताए । उनले यस्तो खालको कार्यक्रम आयोजना गर्दा नबुझेका कानुनी कुराहरुमा स्पष्टता ल्याउने समेत बताए । उनले थप कुरा गर्दै सम्पूर्ण जनप्रतिनिधिले संविधान, स्थानीय तह सञ्चालन ऐन, फौजदारी संहिता र देवानी संहिता झोला र सिरानीमा राखेर जनताको न्याय सम्पादन गर्नुपर्ने बताएका थिए । उनी प्रदेश सरकरको कानुनी सल्लाहाकार समेत हुन् ।

यस्तै कार्यक्रममा संविधानविद् अधिवक्ता टीकाराम भट्टराईले सहभागीलाई कानुनका विषयमा जानकारी गराएका थिए । अधिवक्ता भट्टराईले तीन ओटै सरकारले गर्ने न्याय सम्पादनका विषयमा सहभागीलाई प्रष्ट्याएका थिए । उनले विकासमा एकरूपता ल्याउन स्थानीय तह र प्रदेश सरकारमा सत्ता पक्ष र प्रतिपक्षको कल्पना नगरिएको समेत जानकारी गराएका थिए । जनप्रतिनिधिलाई दलभन्दा माथि उठेर न्याय सम्पादन गर्न उनले सुझाव दिए । उपप्रमुख वा उपाध्यक्षको कुर्सीमा बसेर न्याय सम्पादन गर्दा कानुन विपरीत हुने भन्दै यसका लागि छुट्टै डेक्स स्थापना गरेरमात्र काम गर्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षलाई उनले सुझाएका थिए ।

सुन्दरहरैंचा नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता बालकृष्ण आचार्यले उक्त गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । न्याय सम्पादन गर्दा आइपर्ने जटिलता, व्यावहारिक चुनौती लगायतका विषयमा बहस भएको थियो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर कानुनी अधिकारलाई प्रयोग गरी कार्य सम्पादन गरिरहेको बताए । कार्यक्रममा मोरङ जिल्लाका स्थानीय तहमध्ये सुन्दरहरैंचा, लेटाङ, बेलबारी, मिक्लाजुङ, केराबारीसहित ९ ओटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको थियो । यस्तै, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ र ५ का वडाध्यक्षसहित बिभिन्न पालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र आम नागरिकको सहभागिता रहेको थियो । जेसीज अध्यक्ष भुवन ढकालको अध्यक्षतामा भएको कार्यक्रम ७ दिनसम्म चलेको थियो । कार्यक्रमको प्रतिवेदन कार्यक्रमकी मूल संयोजक विना सुवेदी आचार्यले प्रस्तुत गरेकी थिइन् ।

तस्बीर..