पोखरा रंगशालामा ग्यालरी ‘सी’ तर्फको सिट जडान सम्पन्न

पोखराः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा सिट जडान गरिएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधीन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ ।

मैदानको लागि भारतको कोलकत्ताबाट दुबो ल्याइएको छ भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान फ्रान्सबाट ल्याइएको छ । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट २ जना प्राविधिक समेत पोखरा आएका छन् । आजमात्रै ९ ओटा मालवाहक ट्रकहरु भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन् । ती सामानले पूर्वतर्फको प्यारापिट जडानको काम हुने छ ।

पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र नीलो रङका छन् । ती सिट नेपालको झण्डासँग मिल्ने गरी बनाइएको बताइएको छ । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने बताइएको छ ।

सागअन्तर्गत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालीम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।

महिला फुटबल मंसीर १७ गतेदेखि २४ गतेसम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागिता रहनेछ । आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंकाले खेलमा सहभागिता जनाएका छन् । बंगलादेश, भुटान र पाकिस्तान भने सहभागी नहुने भएका छन् ।

यसैगरी, ट्रयाक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको प्राविधिक टोली आइतबार पोखरा आइपुग्ने भएको छ ।