दिक्तेल–हलेसी सडक कालोपत्रे सम्पन्न

खोटाङः मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३६ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।

एडिबीको ४६ करोड ८९ लाख ९२ हजारको लगानीमा साढे छ मिटर फराकिलो पारिएको सो सडकमा साढे पाँच मिटर चौडाइ कालोपत्र गरिएको आयोजना प्रमुख विजयकुमार थापाले बताए ।

२०७१ जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको सो सडक २ वर्ष ढिलो गरेर ५ वर्षमा मात्रै कालोपत्रे सम्पन्न भएको छ । सडक कालोपत्रे सम्पन्न भएपछि जिल्लावासी खुशी भएका छन् ।

कालोपत्रे गर्नुअघि सडकको बीचबाट दायाँबायाँ साढे ७ मिटर जग्गाको मुआब्जा जग्गाधनीलाई वितरण गरिएको थियो ।