खोप अभियानको एक वर्ष, ७० प्रतिशतले पाए पूर्णमात्रा

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ ।

२०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको दावी गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका छन् ।

त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाएका उनले जानकारी दिए । कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकामध्ये तीन लाख जनाले बुस्टर डोज खोप पाएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा तीन करोड छ लाख चार हजार १५२ डोज खोप नगाइसकेको पनि मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

सुरुमा खोप व्यवस्थापन र लगाउन चुनौती देखिएको भए पनि अहिले खोपप्रति आकर्षण बढेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताउनुभयो ।