त्रिवेणी घाटमा सुरु भयो केएमसीको एक महिने निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको पनौतीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । पनौतीमा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेलाको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो ।
पनौती नगरपालिका वडा नं. ६, ७ र ९ को संगमस्थल त्रिवेणी घाटमा एक महिनासम्म मकर मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा विरामीको उपचारका लागि केएमसीका बिशेषज्ञ डाक्टरहरुको टोली खटिएको छ । शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ ।
श्रीस्वस्थानीको अवसर पारेर काठमाडौंको साली नदीमा पनि केएमसीले एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।