ए डिभिजन लिग : मछिन्द्रले फ्रेन्ड्सलई हरायो

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।

मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा ६७औं मिनेटमा आत्मघाती गोलबाट मछिन्द्रले खेलमा १–० को अग्रता लिन सफल भयो । कप्तान सुजल श्रेष्ठको क्रसलाई आकाश राईले हेड गर्दा रोनेल एन्थोनी पउलले हेडमार्फत गोलरक्षक राहुललाई दिएको पासले जाली चुम्न पुगेको थियो ।

जितसँगै अपराजित रहेर शीर्षस्थानमा रहेको मछिन्द्रको ८ खेलबाट २० अंक पुगेको छ । लगातार हारसँगै फ्रेन्ड्सको रेलिगेसनको दवाव बढेको छ । फ्रेन्ड्स ८ खेलबाट ३ अंक जोडेर पुछारमा रहेको छ ।