बेलबारीमा सांस्कृतिक विमर्श : हाम्रा संस्कृतिहरुबिच साझा भावना र समन्वय छ


नेपालका विविध संस्कृतिहरु विचमा साझा भावना र समन्वय रहेकोले तिनलाई संरक्षण गर्दै नेपाली राष्ट्रियताको विकासमा सबै लाग्नुपर्ने बेलबारीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बेलबारी साहित्य विकास समितिले शनिबार आयोजना गरेको पुरस्कार हस्तान्तरण तथा विहङ्गम सांस्कृतिक विमर्श कार्यक्रममा संस्कृतिविद तथा यसमा सरोकार राख्ने व्यक्तिहरुले मौलिकताको संरक्षणमा समेत सबै व्यक्ति समुदाय लाग्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा संस्कृतिविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले नेपाली राष्ट्रियताको विकासका लागि सम्पुर्ण नेपालीहरु विचको मानसिक सम्मिलन र साझा भावनाको विकास आवश्यक रहेको बताउनुभयो । त्यस्तो साझा भावनाको विकास र निरन्तरता नै नेपाली राष्ट्रियताको विकास भएको पनि उहाँले बताउनुभएको छ । जुनसुकै व्यक्ति वा समुदाय जहाँसुकैबाट आएपनि नेपालको भुमीमा टेक्नासाथ नेपालप्रतिको अपनत्व भावना प्रकट भएमा मात्रै नेपाली राष्ट्रियताको विकास हुने भएकाले त्यो अवस्था निर्माणका लागि राजनितिक नेताहरुलाई प्राज्ञिक समुहले सम्झाएर बाटो देखाउनु र डोहोर्याउनु आवश्यक रहेको संस्कृतिविद गुरुङले बताउनुभयो । फरक फरक समुदायले संस्कृतिको रुपमा ग्रहण गर्दै आएका चालचलन तथा भेषभुषाको दृष्टान्त प्रस्तुत गर्दै संस्कृतिविद गुरुङले नेपाली संस्कृतिहरुविच उहिलेदेखि साझा भावना र समन्वय रहेको प्रस्ट पार्नुभएको छ ।
कार्यक्रममा प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलले नेपालको खास मौलिक संस्कृति भेषभुषा हेर्न विदेशीहरु नेपालसम्म आउने गरेको तर नेपालीहरु भने विदेशीहरुको संस्कृतिमा रमाउने नक्कल गर्ने क्रम बढ्नु चिन्ताजनक भएको बताउनुभएको छ ।
कार्यक्रममा डाक्टर पदमप्रसाद विमलीले नेपाली मौलिकता भित्रका तर्क र भावहरुलाई आत्मसात गर्दै मौलिकताको विकास र निरन्तरतामा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा साहित्यकार इरान राईले नेपाली भाषाको व्यवहारिक प्रयोगमा पछिल्ला दिनहरुमा कमजोरीहरु देखिँदै गएकाले एकरुपता कायम गर्ने विषयमा प्रज्ञाप्रतिष्ठानको ध्यानाकर्षण समेत गराउनुभएको छ । कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराई,गंगा सुवेदी लगायतले पनि बोल्नुभएको थियो ।
सम्मान तथा पुरस्कार हस्तान्तरण
कार्यक्रममा बेलबारी साहित्य विकास समितिले प्रदान गर्ने सम्मान तथा पुरस्कार समेत हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य गंगा सुवेदीलाई विशेष सम्मान गरिएको छ । बेलबारी साहित्य पुरस्कारबाट ईरान राई र कला पुरस्कारबाट मेखबहादुर कार्कीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी डाक्टर जगमान गुरुङले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
उक्त समारोहमा किशोर कोइराला, बिन्दु दाहाल मुकदर्शक लगायतले रचना बाचनसमेत गर्नुभएको थियो । गायक सन्जिव धिमालले धिमाल भाषाको गीत प्रस्तुत गर्नुभएको थियो ।सोही कार्यक्रममा बेलबारी साहित्य विकास समितिको चौथो वार्षिक साधारणसभा समेत सम्पन्न भएको थियो ।बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।