उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा

नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी प्रतियोगीतामा लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल फइनलमा प्रवेश गरेको हो ।

उज्जेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा अपराजित रहेको नेपालले पहिलो सेटमा २५२० को जित निकालेको थियो ।

दोस्रो सेटमा नेपालले २५२३ को जित निकाल्दै जितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा २५१४ ले जित निकाल्दै नेपालले राउनड रोविनको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भयो ।

नेपालले अब लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्दैछ । अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक पुगेको छ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल मंगलबार हुनेछ ।