ए डिभिजन लिग : संकटाले बिबिसीलाई ३–० ले हरायो

संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि सहज जित निकालेको छ । संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए ।

२८औं मिनेटमा उत्तम राईले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे ।

३८औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई ३–० ले अघि बढाए ।

जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटाले एक खेल कम खेलेको आर्मीलाई ३ अंकले पछि पारेको हो । पराजित बिबिसी ६ खेलबाट ५ अंक जोडेर ११औं स्थानमा झरेको छ । समान ५ अंक नै रहेपनि बिबिसी एपिएफसँग पछि परेको छ ।