माल्दिभ्सलाई हराउँदै नेपालको लगातार दोस्रो जित

बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । यसअघि नेपालले बिहीबार भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको थियो ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–९ को एकपक्षीय जित निकालेको नेपालले तेस्रो सेटमा २५–५ को सेटमा पराजित गर्न सफल भयो ।

अब नेपाली महिला टोलीले २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्वरमा हुनेछ ।