ए डिभिजन लिगमा एपिएफको पहिलो जित

विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एपिएफले लिगको पाँचौ खेलमा फ्रेन्ड्सलाई ३–१ ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।
३०औं मिनेटमा विकी तामाङले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि ३२औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा आशिष लामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एपिएफको अग्रता बढाए । ६८औं मिनेटमा प्रिजेन तामाङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

जितपछि पुछारमा रहेको एपिएफले तीन स्थान सुधार गर्दै ११औं स्थानमा उक्लिएको छ । समान ४ अंक नै रहेपनि गोल अन्तरमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबलाई पछि पारेको छ । पराजित फ्रेन्ड्स २ अंक जोडेर पुछारमा झरेको छ ।