सुन्दरहरैँचा १० स्थित सुकुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रमहरु सहित विहिबारबाट सुरु हुने भएको छ । विक्रम सम्वत २०२९ सालमा स्थाना भएको सुकुना माविले स्थापनाको ५० औँ वर्ष अर्थात स्वर्ण महोत्सवबारे बुधबार विद्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
यहि पुष १ गतेदेखि ७ दिनसम्म स्वर्ण महोत्सवलाई भव्यताका साथ मनाइने प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । यससँगै २०७८ पुष १ गते विहिबारबाट २०७९ पुष १ गतेसम्मै यस वर्षलाई स्वर्ण महोत्सव वर्ष २०७८ का रुपमा मनाउन लागेको पनि श्रेष्ठले जानकारी दिए ।
विहिबारबाट सुरु हुने स्वर्ण महोत्सवमा विज्ञान भवन र प्रवेशद्वार उद्घाटन,भेला अभिनन्दन,अन्तरक्रिया,खेलकुद प्रतियोगितासहितका अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरु रहेको प्रअ श्रेष्ठले बताए । अहिले सुकुना मावि प्रदेश १ मै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यालयको रुपमा रहेको पनि उनले जानकारी दिए । यसअघि सबैभन्दा धेरै विद्यार्थी रहेको विद्यालय विर्तामोडको देवी मावि रहेको र सो विद्यालयसँग मितेरी कार्यक्रम समेत राखिएको प्रअ श्रेष्ठले जानकारी दिए।
स्वर्ण महोत्सव अन्तर्गत ७ दिनसम्म चल्ने कार्यक्रमहरु अन्तर्गत दैनिकरुपमा विशिष्ट र चर्चित व्यक्तिहरु प्रमुख अतिथीको रुपमा रहने विद्यालयले जनाएको छ । पुष १ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने स्वर्ण महोत्सवको समापनको दिन राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाविर पुन प्रमुख अतिथी रहने विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीले बताए ।
विद्यालयको स्वर्ण महोत्सव सफलताका लागि सहभागिता र सहयोगका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर न्यौपानेले सबैसँग आग्रह गरेका छन् ।
पुर्वपश्चिम राजर्मासँगै रहेको सुकुना माविमा हाल कक्षा ९ देखि १२ सम्म प्राविधिक धारमा सिभिल इन्जिनियरिङ,कक्षा ११ र १२ मा विज्ञान,होटल मेनेज्मेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन,कानुन र पत्रकारिता विषयहरुसमेत पढाई भैरहेको विद्यालयले जनाएको छ ।